गुणस्तरिय तथा सुपथ मूल्यमा :  ग्याँस गिजर, वाटर फिल्टर,चिम्नि ,रेगुलेटर र पाईप, सोलारवाटर हिटर, इन्भटर, ब्याट्री, होम/स्ट्रीट सोलार लाईट, पानी तान्ने पम्प, फाएर ईक्सटीङग्युजर ,एयर कन्डीशनर आदी | सम्पर्क : एपी ट्रेडर्स , ९८५१०७३५४५
निक्षेप ९-१४% ऋणमा १७-२०% ब्याजदर ! सम्पर्क: कम्युनिटी बचत तथा  ऋण सहकारी संस्था लिमिटेड, रविभवन फोन : ०१-४२८५३६३

Construction and Fitting

14th December 2018

Government

11th June 2018

Classified

11th June 2018

Watch Events

Visit Nepal

Article

विज्ञापनको बल मिच्याइँ.

विज्ञापनको बल मिच्याइँ.

11th June 2018
बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने नेपाली उखान अलि पुरानै हुनुपर्छ । यो उखान अहिले पनि चलिरहेको छ । उसैपनि नेपाली समाजमा चामललाई अली अब्बल खाद्यान्न मानिन्छ र पिठोलाई दोयम दर्जामा राखिन्छ । बोल्नेको पिठो बिक्छले विज्ञापनको छनक दिन्छ । आधुनिक बजारशास्त्रको भनाई लिने हो भने बोल्नु वा बोल्न जान्नु बजार प्रवद्र्धनको शैली हो । सीप हो । अझ तरक्की भन्दा पनि हुन्छ । नबोल्नु, चुपचाप बस्नु बजार प्रवद्र्धन गर्न नजान्नु हो । अरूलाई प्रभाव पार्ने सीप नहुनु हो । यो उखानले नेपाली समाजमा विज्ञापनको प्रयोजन जानी नजानी धेरै लामो समयदेखि कायम थियो भन्ने देखिन्छ । भनिन्छ, विज्ञापन मानिसद्वारा मानिसका लागि गरिने व्यापार हो । कुनै चिज–वस्तुको मूल्य र मात्रा व्यापक बनाउन विज्ञापन गरिन्छ । विज्ञापन सूचना पनि हो । विज्ञापनका माध्यमबाट सम्प्रेषण गरिएका सन्देशहरू अरूको ध्यानाकर्षण गर्नका लागि हुन्छन् । ध्यानाकर्षण गराउन अनेक सन्दर्भ र शैलीको प्रयोग हुन्छ । ध्यानाकर्षण गराउन मात्र होइन, रुचि जगाउन पनि विज्ञापन प्रयोग हुन्छ । विशेष भाषा, शब्दावली, सङ्गीत, मनमोहक दृष्य, प्रेम, यौन इत्यादिको भाव देखाएर रुचि जगाउने र त्यसले वस्तु र सेवाको बजारीकरण गरिनु विज्ञापन हो । विज्ञापनले मानिसहरूमा वस्तु तथा सेवाप्रति ध्यानाकर्षण गर्ने र रुचि जगाउने मात्र होइन, आकाङ्क्षा पनि थपिदिन्छ । मानिसको वस्तु वा सेवा प्रति अनेक र फरक फरक चाहना हुन्छन् । तर सबै चाहना अर्थशास्त्रीय भाषामा आवश्कता हुँदैनन् । चाहनालाई पूरा गर्ने साधन र स्रोत छ भने त्यतिखेर चाहना आवश्यकता हुँदै मागसम्म पुग्छ । माग हुन साधन र स्रोतसँगै तत्परता पनि चाहिन्छ । विज्ञापनले मानिसको मनमा आकाङ्क्षा खडा गरिदिन्छ । आवश्यकताको कुतकुती लगाइदिन्छ । तत्परताको हुटहुटी खडा गरिदिन्छ । आकाङ्क्षा पूरा गर्न मानिसले साधन र स्रोतको जोहो गर्न थाल्छ । त्यो क्रम कार्यरूपमा परिणत हुन थालेपछि वस्तु वा सेवा सुक्रीविक्री हुन्छ । त्यतिखेर विज्ञापनको लक्ष्यभेदन हुने भो । साधन खर्चेर खरिद गरेको वस्तु वा सेवाको गुणसँग उपभोक्ता सन्तुष्ट भयो भने त उपभोक्ता पनि मख्ख र पैसा खर्च गरेर विज्ञापन गर्ने पनि मालवस्तुले बजार पाउँदा दङ्ग हुने नै भयो । विज्ञापन मूल्य तिरिएको सूचना हो । सञ्चार हो । वस्तु वा सेवाको चिनारी विस्तार गर्न र गुणको व्यापकता विस्तार गर्न विज्ञापन प्रयोग हुन्छ । वस्तु वा सेवा खरिद गराउने यसको मूल ध्येय हो । विज्ञापनमा सञ्चारका माध्यमहरूको प्रयोग गरिन्छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन जस्ता आमसञ्चारका साधनको प्रयोग गरिन्छ । पत्रपत्रिकामा समाचारसँगै पाठकलाई ध्यानाकर्षण गर्न विज्ञापन राखिन्छ । रेडियोले समाचार, शिक्षा, मनोरञ्जनसँगै विज्ञापन सुनाउँछ । टेलिभिजनले सुनाउँछ र देखाउँछ पनि । अनलाइनमा देख्न, पढ्न, सुन्न पाइन्छ । पत्रपत्रिका, रेडियो, टेलिभिजनका आफ्नै विशेषता छन् । तर अध्ययनहरूले टेलिभिजनलाई सबैभन्दा बढी प्रभावकारी ठान्छ । त्यसपछि रेडियो र अनि मात्र पत्रपत्रिकाको स्थान आउँछ । आमसञ्चारका यी माध्यमसँगै विज्ञापनका अरू पनि माध्यम छन् । पोष्टर, पम्लेट, होडिङबोर्ड, विद्युतीय सङ्केत वा भिडियो डिस्प्ले जस्ता माध्यमबाट पनि विज्ञापन गरिन्छ । यसरी विज्ञापन गर्नुलाई बाह्य (आउटडोर) माध्यम भनिन्छ । वस्तु वा सेवाको प्रचार गर्न सबैले देख्ने ठाउँमा बाह्य विज्ञापनका माध्यमहरू प्रयोग हुन्छ । पोष्टर देख्ने ठाउँमा टाँसिन्छ । मानिसहरूलाई पम्लेट बाँडिन्छ । होडिङबोर्ड मानिसले देखूँन् भनेर उपयुक्त स्थानमा टाँगिन्छ । विद्युतीय सङ्केत पनि भीडभाडमै राखिन्छ । काठमाडौंको विशालबजारमा यसप्रकारका विज्ञापन सामाग्री देख्न सकिन्छ । यो सानो उदाहरणमात्र हो । विज्ञापनका लागि खर्च गर्नुपर्छ । बिना खर्च विज्ञापन हुँदैन । यो मूल्य तिरिएको सञ्चार हो । यो निःशुल्क हुँदैन । तथापि, सामाजिक भलाईका लागि गरिने कतिपय विज्ञापन निःशुल्क पनि हुन्छन् । तर त्यसका लागि पनि मूल्य हुन्छ । विज्ञापनका लागि समय वा स्थान चाहिन्छ । पत्रपत्रिकामा विज्ञापनका लागि स्थान चाहिन्छ । रेडियो वा टिभीमा समय । विज्ञापनका लागि शब्द, सङ्केत, समय, दृष्य इत्यादि प्रयोग हुन्छ । यो सिर्जनात्मक सञ्चार हो । वस्तु वा सेवाका लागि अरूलाई प्रभाव पार्नु सजिलो काम होइन । सिर्जना र दक्षता यसमा जरुरी हुन्छ । विज्ञापनले नयाँ वस्तु वा सेवा उपभोक्तामाझ चिनाउँछ । ब्रान्डको संरक्षण गर्छ । उपभोक्तालाई अभिप्रेरित गर्छ । उत्पादनको प्रतिष्ठा बढाउँछ । ग्राहकमा शिक्षा र चेतना विस्तार गर्छ । बजार प्रवद्र्धन गर्छ । व्यापारीलाई मुनाफा दिन्छ । यी सबै काम सुनियोजित तौरतरिकाले गर्छ । यो निरुद्देश्य त अवश्य हुन्न तर नित्तान्त झुठो पनि हुन्न । बरु उपेभाक्ता र उत्पादनबीचको अन्तरसम्बधको विशेष कडी हो विज्ञापन । अर्थतन्त्रलाई आधुनिकतातिर लैजाने बाटो पनि हो यो । वास्तवमा विज्ञापनको आफ्नै शास्त्र छ र छ सिद्धान्त पनि । विज्ञापन बजार प्रवद्र्धनका पारखशास्त्र हो । यसका पनि मूल्य र सिद्धान्त छन् । झुठा कुरा विज्ञापन हुन सक्दैन । झुठा कुरा विज्ञापन होइन, ठगी हो । विज्ञापनको समकालीन नेपाली बजारमा कसरी प्रयोग भइरहेको छ ? अलिकति त्यतातिर हे¥यो भने वैराग लाग्छ । नेपाली बजारमा भने विज्ञापन र ठगी एउटै सिक्काका दुई पाटा हुन कि जस्तो लाग्छ । अहिलेको नेपाली बजारका कतिपय पाटा पिठो बिकाउन होइन, माटोलाई पिठो भनेर बिकाउने यत्न जस्तो देखिन्छ । अनेक ठूल्ठूला कलाकार र नायकहरू आफ्नो सामाजिक ओहोदा र मूल्य विचारै नगरी विज्ञापनमा खेल्छन् । कमसल वस्तुमा गुणस्तर भएको ढोङ्ग पिट्छन्, मात्र अलिकति पैसाका लागि । रियल जुसका बारेमा यो एकडेढ वर्षमा धेरै खालका समस्या आए । विकृति सार्वजनिक भए । जनस्वाथ्यमा प्रश्न उठ्यो । सरकारी निकायले पनि त्यसमा प्रत्यक्ष प्रमाण पायो । मिति राख्ने कुरामा गलत भएको डाबरले स्वीकार पनि ग¥यो । तर सुधारका लागि ठिक बाटो रोजिएन । त्यसको निरुपण गर्ने स्वतन्त्र छानबिनको आवश्यकता डाबरले देखेन । बरु कुनै नायकको सामाजिक उचाइँलाई खरिद गरेर विज्ञापन गर्नु उचित ठान्यो । नायक पनि खुसी भए क्यारे । गलत चिजलाई सही देखाउन खोज्नु विज्ञापनको ध्येय होइन । सही चिजलाई अरु सही देखाउनु विज्ञापनको उद्देश्य हो । यो कुरा बुझ्ने चेष्टा नेपाली बजारले गरेको छैन । कुनै नायकको फलामे डन्डीसँग के साइनो हुन्छ ? अनि यौनलाई विज्ञापनमा बेच्न खोज्नु र त्यसमा पनि ठाउँ कुठाउँ युवतीको प्रयोग गर्नु विज्ञापनको सही प्रयोजन होइन । अनैतिक, अमर्यादित र अस्वस्थ्य प्रतिस्पर्धालाई बढवा दिनु पनि विज्ञापन होइन । त्यो विकृति हो । ठगी हो । यस्तो अनेक उदाहरण देख्न सकिन्छ । विज्ञापन सामाजिक मर्यादा अनुकूल हुनुपर्छ । विज्ञापनले गुणको बयान गर्नुपर्छ । गलत कुरालाई प्रश्रय दिनु विज्ञापन होइन, बरु अपराध हो । उपभोक्ताको हित विपरीत गरिने विज्ञापन विज्ञापन होइन, ठगी हो । कमजोर राज्यमा मात्र यस्तो सम्भव हुन्छ । नेपाली बजारमा विज्ञापनको अराजक प्रयोग देखिन्छ । वस्तुको विज्ञापन, उपहार, चिठ्ठाका वान्छित ध्येय बजार प्रवद्र्धन होइन, उपभोक्ता ठग्ने प्रपञ्च भएका विविध उदाहरण देख्न सकिन्छ । एउटा उत्पादनले चिठ्ठा र उपहारका नाममा कार दिने भनेर पछि खेलौना कार दियो । त्यो विषय अहिले पनि राज्यका निकायमा विचाराधीन अवस्थामा छ । नेपाली बजारमा प्रायजसो विज्ञापनलाई भद्दारूपमा प्रयोग गरेको पाइन्छ । उपभोक्ताको हित हेर्ने निकायहरू निरीह जस्तै छन । उपभोक्ताको हितप्रवद्र्धनको कोणबाट विज्ञापन गरेको पाइन्न । साच्चै भन्नुपर्दा वस्तु वा सेवाको गुणको बेलीविस्तारभन्दा अनावश्यक बडाइँचडाइँ र प्रोपोगन्डा नेपाली विज्ञापनको विशेषता हो । पाडो किन्दा भैंसी उपहार जस्तो फाल्तु कुरा विज्ञापनमा दिएर उपभोक्तालाई बेअकूफ बनाउने शैली नेपाली विज्ञापनको विशेषता जस्तै बनेको छ । गुणस्तरहीन वस्तु वा सेवाको प्रचारप्रसार गरी विज्ञापन गर्नु यथार्थमा विज्ञापन होइन । बरु, त्यस्तो कार्य त सरासर ठगी अनि अवराध पनि हो । वस्तु वा सेवाको प्रचार गर्ने भन्दैमा विज्ञापनले गलत कुराको आड भरोसा लिँदा त्यस्ता वस्तु वा सेवाबाट क्षणिक विक्री लाभ त लिन सकिएला तर त्यसले दिगो र स्थायित्व प्राप्त गर्न सक्दैन । अर्थतन्त्र पनि उँभो लाग्दैन । वस्तु वा सेवाको विज्ञापन गर्ने नाउँमा समाज र राष्ट्रको अहित पनि गर्नुहुन्न । राष्ट्रिय अर्थतन्त्रको अहित अनि भाषा र संस्कृतिमाथि अतिक्रमण गर्ने खालको विज्ञापनलाई प्रोत्साहन दिनु पनि गलत हो । विदेशी वस्तु वा सेवाको उनीहरूका भाषा र ढर्रामा विदेशी च्यानलसँगै भित्रिएका विज्ञापन सामग्रीले राष्ट्रिय अर्थतन्त्रमा पारेको प्रभावका कुनै अध्ययन नेपालले गर्न सकेको छैन । विदेशी विज्ञापन डबिङ्ग गरेर प्रचलनमा ल्याइन्छ , त्यो पनि ठिक होइन । विज्ञापन त मौलिक र सिर्जनात्मक कार्य हो । विज्ञापनले नेपाली सीप, सिर्जना, आय र रोजगारीको बाटो खोल्नु पर्छ । अहिलेको विज्ञापन ढाँचा र ढर्राले त नेपाली समाजलाई नाङ्गो उपभोक्तावादतर्फ उन्मुख गर्दैछ । विप्रेणका रूपमा बाहिरबाट आएको स्रोत पुनः विदेशै पुग्ने जस्तो चक्रलाई अहिलेको विज्ञापनवादले सहयोग गरिरहेको छ । यो किमार्थ राष्ट्रिय अर्थतन्त्रका लागि सुखद् पक्ष होइन । नेपाली समाजमा प्रतिकूल असर पर्ने कुनै पनि विज्ञापन सामाग्रीको ठूलो मूल्य समाजले चुकाउनुपर्छ । हाम्रा बजारमा चाउचाउको जसरी विज्ञापन गरिएको छ, त्यसले विकराल समस्या निम्त्यिाउने खतरा बढ्दो छ । चाउचाउ जङ्क खानेकुराका रूपमा चिनिन्छ र त्यसले जनस्वास्थ्यमा अनेक समस्या ल्याउने र खासगरी बालबालिकाको स्वास्थ्यमा हानि गर्ने कुराहरू बाहिर आइरहेका छन् । कतिपय विद्यालयहरूले चाउचाउ लगायतका जङ्क खानेकुरालाई विद्यालय परिसरमा खानमात्र होइन, ल्याउनसम्म पनि प्रतिबन्ध लगाएका छन् । तर जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने अनेक वस्तु तथा सेवाहरू खुलेआम विज्ञापन सामाग्रीका रूपमा प्रचारप्रसार गरेर नेपाली विज्ञापन बजारमा अनेक भत्ता स्वरुप देख्न सकिन्छ । विज्ञापन खुला र बजार अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने प्रभावकारी हतियार हो । कुनै पनि हतियारको सही प्रयोगले मात्र त्यसको सार्थकता प्रमाण्ति हुन्छ । हतियारको गलत प्रयोगले हानि सिबाय केही हुन्न । विज्ञापन मानिसका लागि वस्तु वा सेवाको बजार विस्तार गर्न उपयोग गर्ने विज्ञान हो । तर यो विज्ञानलाई अपज्ञानका रूपमा प्रयोग भइरहँदा पनि त्यसको लेखाजोखा गर्ने प्रवृत्ति नेपाली समाजमा देखिएको छैन । चिन्तन र सार्थक बहस सुरु भएको छैन । राज्यका निकायसँग अनुगमन गर्ने संयन्त्र छैन । व्यवसायिक तवरमा आचारसँहिताका निर्माण र कार्यान्वयनको अभाव छ । नेपाली समाजमा बोल्नेको पिठा बिक्छ र नबोल्नेका चामल पनि बिक्दैन मात्र भनिन्न, अकबरी सुनलाई कसी लगाउनुपर्दैन भन्ने पनि चलन छ । असल चिज आफै विज्ञापन हो । असल चिजको विज्ञापन नै जरुरी पर्दैन । वस्तू वा सेवा सरह शिक्षा र स्वास्थ्यको पनि विज्ञापन गर्ने प्रचलन चल्दो छ । च्याउ सरी खुलेका देशको कैयौं शैक्षिक संस्थाहरूले विज्ञापनमा ठूलो खर्च गर्छन । त्यसको अनुगमन कही छैन । विज्ञापन गर्ने त्यो पैसा अभिभावककै श्रम र पसिनाबाट जाने हो । तर त्यही स्थानमा बूढानीलकण्ठ स्कूल, सेन्ट जेभियर्स र सेन्टमेरिजले कहिल्यै भर्नाको अति सामान्य सूचना बाहेक विज्ञापन गरेको पाइन्न । तर त्यहाँ भर्ना हुन चाहनेहरू ठूलो भीड लाग्छ । अति सीमितले मात्र स्थान पाउँछन् । शिक्षामात्र होइन, अस्पताल, डाक्टरको क्लिनिक, औषधिको पनि विज्ञापन गर्ने गलत परम्परा नेपाली समाजमा शुरु हुँदैछ । विज्ञापन मानिसका निम्ति गरिने सूचनाको व्यापार त हो तर त्यो मानिसको हित विपरीत हुन सक्दैन । विज्ञापन गतिलो र अपारदर्शी अनि व्यक्तिको सर्वोपरि हितविरुद्ध पनि हुन सक्दैन । देशको कानुन, आचार, सामाजिक मूल्य र संस्कारविरुद्ध हुन सक्दैन । विज्ञापन मूल्य व्यहोरिएको सूचना सामग्री अवश्य हो तर यो ठगी होइन । व्यक्तिको हितविरुद्ध पनि होइन । गतल विज्ञापनविरुद्ध समाजलाई उठाउनु शायद समयको माग हो कि ? जुनारबाबु बस्नेत सभार : जीवन मासिक पत्रिका बर्ष १३, अंक २६, २०६९ बैशाख
Read More